मुस्ताङमा लेक लागेर ३ वर्षमा २९ जनाको मृत्यु
मुस्ताङ | बैशाख ६, २०८१
मुस्ताङ: हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८–७९ देखि २०८०–८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ ।
चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन् । मृत्यु हुनेमा सात जना भारतीय, तीन जना नेपाली तीर्थयात्री र एक युक्रेनी पर्यटक रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार आव २०७८–७९ मा पाँच महिला र एक पुरुष गरेर छ जनाको लेक लागेर मृत्यु भएको थियो । उहाँहरु सबै भारतीय नागरिक थिए भने ४५ देखि ७३ वर्षसम्मको उमेर समूहका रहेका प्रहरीले जनाएको छ ।
उहाँहरुलाई मुक्तिनाथ, जोमसोम एयरपोर्ट, जोमसोम र धिमीठाँटी भन्ने स्थानमा लेक लागेको थियो । आव २०७९–८० मा पनि पाँच महिला र सात पुरुष गरेर १२ जनाको मृत्यु भएको थियो । मृतकमध्ये सात भारतका, एक थाइल्यान्डका र चारजना नेपाली थिए ।
उहाँहरुको उमेर ४२ देखि ७५ वर्षसम्म रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो । प्रहरी अभिलेखअनुसार उहाँहरुलाई मार्फा, मेसोकान्दो हिमाल, मुक्तिनाथ मन्दिर परिसर, घरपझोङ, एयरपोर्ट, यारालगायत स्थानमा लेक लागेको थियो ।
प्रहरीका अनुसार चालु आवको चैतसम्म लेक लागेरै ११ जनाको मृत्यु भइसकेको छ । असोजमा तीन, फागुनमा दुई र चैतमा छ जनाको मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकमध्ये पाँच महिला र छ जना पुरुष रहेका छन् ।
उहाँहरु ३५ देखि ८३ वर्षसम्मको उमेर रहेका छन् । मृतकमध्ये एक युक्रेनी, तीन नेपाली र आठ जना भारतीय रहेका छन् । उहाँहरुलाई थासाङ, झोङ, लेते, मार्फा, मुक्तिनाथ, जोमसोम, टुकुचेलगायत स्थानमा लेक लागेको जनाइएको छ ।
गत चैतमा मात्र छ जना तीर्थयात्रु–पर्यटकको मुस्ताङमा लेक लागेर ज्यान गएको छ । अभिलेखअनुसार गत वर्ष मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आएका १२ जनाको लेक लागेर मृत्यु भएको थियो । मुस्ताङ जाने पर्यटकले भोग्ने मुख्य समस्या लेक लाग्नु अर्थात शरीरमा अक्सिजनको कमी हुनु हो ।
पछिल्ला तीन वर्षका तथ्याङ्कले मुस्ताङ भ्रमणका लागि मुख्य चुनौती भनेको लेक लाग्नु देखाएको छ । दुई हजार पाँच सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुने अवस्थालाई लेक लाग्नु भनिन्छ ।
लेक लाग्दा टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, श्वासप्रश्वासमा गाह्रो हुने, निद्रा नलाग्ने, खाना रुचि नहुने, थकाइ लाग्ने, कमजोरी महसुस हुने, कमजोरी हुनेलगायत सामान्य लक्षण अनुभव हुने चिकित्सकहरू बताउँछन् ।
मध्यम अवस्थामा फोक्सोमा पानी जम्न थाल्ने, सास फेर्न गाह्रो हुने, आराम गर्दा पनि स्याँ(स्याँ हुने, खोकी लाग्ने, खकारमा रगत देखिने छाती भारी हुनेलगायत लक्षण देखिन्छन् भने त्यसपछिको अवस्थामा मस्तिष्कमा पानी जम्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुने, कुराहरु बिर्सिने, पिसाब कम हुनेलगायत लक्षण देखिने गरेका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

